वीरगञ्जमा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण, तीन प्रहरी घाइते

श्याम खतिवडा

जनकपुरधाम । वीरगञ्ज महानगरपालिका–१५ आदर्शनगरस्थित एक स्टोरमा छापा मार्न पुगेको भन्सार र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि केही स्थानीयले आक्रमण गरेका छन्। आक्रमणका क्रममा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने छापामारीमा प्रयोग गरिएका सवारीसाधनमा तोडफोड भएको छ। नं. १३ गण पर्साका अनुसार २०८२ माघ २६ गते बिहान करिब १०:३० बजे विशेष सूचनाको आधारमा मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा भन्सार छली लुकाइछिपाई राखिएको सामान बरामद गर्न संयुक्त टोली परिचालन गरिएको थियो।

एपीएफ सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जका डीएसपी विकास अधिकारीको कमाण्डमा १० जना, गण हे.क्वा. पर्साबाट इन्स्पेक्टर सापकोटाको कमाण्डमा ९ जना र वीरगञ्ज भन्सार कार्यालयका तथ्यांक अधिकृत भागीरथ रौनियारको कमाण्डमा २ जना गरी कुल २१ सदस्यीय संयुक्त टोली घटनास्थलमा पुगेको थियो। छापामारीका क्रममा बरामद गरिएको सामान लोड गर्दै गर्दा स्थानीय २०–२५ जनाको समूहले अचानक ढुंगामुढासहित आक्रमण गरेपछि अवस्था तनावग्रस्त बनेको सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालयले जनाएको छ।

ढुंगामुढाबाट बागमती प्रदेश एफ ए ए ०१२५ नम्बरको गाडीको अगाडिको सिसा फुटेको छ भने एपीएफको स्कार्पियो गाडीमा पनि क्षति पुगेको बताइएको छ। स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरी वरिष्ठ सिपाही महमद मुस्ताक अलीको बायाँ हातमा चोट लागेको र उनको मोबाइल फोन खोसेर लगिएको छ। यस्तै, सशस्त्र प्रहरी हवल्दार जितेन्द्र प्रसाद सहनीको बायाँ गोडामा सामान्य चोट लागेको छ भने नं. १३ गण पर्सामा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र पासवानको टाउकोमा सामान्य चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ।

संयुक्त टोलीले करिब पाँच लाख रुपैयाँ बराबरका भन्सार छलीका पाँच पोका कपडा बरामद गरेको छ। बरामद सामग्री भन्सार कार्यालय बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ। सुरक्षा टोलीमाथि आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही अघि बढाउन स्थानीय प्रशासन र नेपाल प्रहरीसँग समन्वय भइरहेको सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डीआईजी कृष्ण ढकालले नेपाल प्रेसलाई बताए।

प्रतिक्रिया