दोलखा । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को ६० औँ महाधिवेशनमा दोलखा जिल्लाले आफ्नो सशक्त र संगठित उपस्थिति जनाएको छ। जिल्लाको व्यावसायिक जग बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका दुई अनुभवी व्यवसायीहरू रामेश्वर मानन्धर र सुदर्शन कार्की केन्द्रिय नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका हुन्।
दोलखाका यी दुई ‘स्वच्छ छवि’ का व्यवसायीहरूको उम्मेदवारीलाई जिल्लाका दुवै उद्योग वाणिज्य संघले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्।
रामेश्वर मानन्धर: बागमती प्रदेशको भूगोलबाट बलियो दाबेदार
दोलखा उद्योग वाणिज्य संघका दुई कार्यकाल सफल नेतृत्व सम्हालिसकेका रामेश्वर मानन्धर यसपटक बागमती प्रदेशको भूगोलबाट केन्द्रिय सदस्य पदका उम्मेदवार हुन्। निर्माण तथा हार्डवेयर व्यवसायमा स्थापित मानन्धर यसअघि पनि महासंघको केन्द्रिय सदस्य भइसकेका अनुभवी व्यक्तित्व हुन्। उनलाई बागमती प्रदेशका १३ वटै जिल्लाका जिल्ला–नगर प्रतिनिधिहरूले मतदान गर्नेछन्। मानन्धरलाई दोलखा उद्योग वाणिज्य संघले आधिकारिक उम्मेदवारको रूपमा अघि सारेको हो।
सुदर्शन कार्की: देशभरका प्रतिनिधिको साझा भरोसा
त्यस्तै, दोलखाकै अर्का प्रभावशाली व्यवसायी सुदर्शन कार्की खुला केन्द्रिय सदस्य पदमा प्रतिस्पर्धा गर्दैछन्। होटल र पेट्रोलियम व्यवसायमा सफल लगानी रहेका कार्की पनि महासंघका पूर्व केन्द्रिय सदस्य तथा दोलखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्। कार्कीलाई यसपटक जिरी नगर उद्योग वाणिज्य संघले उम्मेदवार बनाएको हो। खुला तर्फको उम्मेदवार भएकाले उनलाई देशभरका जिल्ला–नगर प्रतिनिधिहरूले मतदान गर्नेछन्।
दोलखा र जिरी दुवै संघको ऐक्यबद्धता: "हाम्रो मान्छे, राम्रो मान्छे"
उम्मेदवारहरूलाई विजयी गराउन जिल्लाका दुवै व्यावसायिक नेतृत्वले कम्मर कसेका छन्। दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ र जिरी नगर उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले संयुक्त रूपमा दुवै उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गरेका छन्।
जिरी नगर उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले भन्नुभयो— "रामेश्वर जी र सुदर्शन जी दुवैले महासंघमा यसअघि नै आफ्नो क्षमता प्रमाणित गरिसक्नुभएको छ। उहाँहरूको जितले महासंघको गरिमा बढ्नुका साथै समुन्नत दोलखा निर्माणको अभियानमा ठूलो बल पुग्नेछ। त्यसैले देशभरका मतदाता साथीहरूलाई उहाँहरूलाई मतदान गर्न आग्रह गर्दछु।"
जिल्लाको गौरव र समृद्धिको एजेन्डा
यी दुवै व्यवसायीले जित निकालेमा केन्द्रिय नीति निर्माण तहमा दोलखाको पहुँच पुग्ने र जिल्लाका साना तथा मझौला व्यवसायीका समस्या समाधान हुने विश्वास स्थानीय सरोकारवालाहरूले लिएका छन्। चैत २९ र ३० गते हुने महाधिवेशनमा दोलखाका यी दुई सारथिहरू आफ्नो अनुभव र स्पष्ट भिजनसहित चुनावी मोर्चामा सशक्त रूपमा प्रस्तुत भएका छन्।