कर्णालीमा कँडेल–बोगटी गुटको तनाव, प्रतिनिधि छनोटमा एकलौटीको आरोप

श्याम खतिवडा

१५ मंसिर, सुर्खेत । नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि प्रतिनिधि छनोट हुँदै गर्दा कर्णाली प्रदेशमा गुट–द्वन्द्व अन्य प्रदेशभन्दा फरक र बढी चर्किएको देखिएको छ। अन्य प्रदेशमा संस्थापन र इतर पक्षबीच प्रतिस्पर्धा चले पनि कर्णालीमा भने केपी ओलीसमर्थक नेताद्वय यामलाल कँडेल र गोरख बोगटी समूहबीचको शक्ति–संघर्ष प्रमुख रूपमा देखा परेको छ। नेकपा विभाजनपछि प्रदेशमै प्रभाव बढाउँदै आएका यी दुई नेताका फरक–फरक समूहले जिल्ला अधिवेशनदेखि महाधिवेशन प्रतिनिधि चयनसम्म समानान्तर शक्ति प्रदर्शन गर्दै आएका छन्। कँडेल समूह कर्णालीमा बलियो मोर्चा बनेको भन्दै बोगटी पक्षलाई निषेध गरिएको आरोप नेताहरूले लगाएका छन्।

सुर्खेत–२ मा प्रतिनिधि सांसदका उम्मेदवार बनेका निवर्तमान जिल्ला अध्यक्ष अमृतकुमार बिसी Mahadhivesan प्रतिनिधिमा समेत पराजित भएपछि असन्तुष्टि बढेको छ। कँडेल समूहले बिसीलाई चुनावमा प्रतिस्पर्धा गरेको कारण देखाउँदै एकलौटी ढङ्गले छाडेको आरोप उनका निकटहरूले लगाएका छन्। प्रदेश अध्यक्ष गुलाबजंग शाहको गृह जिल्ला सल्यानमा समेत शाह निकट व्यक्तिलाई मात्रै प्रतिनिधि बनाइएको भन्दै विरोध चर्किएको छ। जिल्ला अधिवेशनमा शाहविरुद्ध चुनाव लडेका नेताहरूलाई छलफलमै प्रवेश नदिएको भन्ने गुनासो आएको छ। असन्तुष्ट पक्षले होटलको बन्द कोठामा तरिका मिचेर प्रतिनिधि छनोट गरिएको दाबी गर्दै पारदर्शिता र विधि पालनामा गम्भीर प्रश्न उठाएको छ।

रुकुम पश्चिममा कँडेल र बोगटी समूहबीच सहमति नजुटेपछि प्रत्यक्ष निर्वाचन गर्नुपर्‍यो, जसमा कँडेल समूहकै उम्मेदवार विजयी भए। केन्द्रमा ओली समूहमै रहेकी कर्णालीकी नेतृ तुलसा मल्ल जिल्लामा कँडेल समूहको समर्थन नपाएकै कारण पराजित भएको बताइन्छ। पराजयपछि उनले मतदानमा अनियमितता भएको भन्दै सामाजिक सञ्जालमा कडा असन्तुष्टि व्यक्त गरेकी छन्। उनका अनुसार कतिपय व्यक्तिले पाँचदेखि सात पटकसम्म मतदान गरेको र अनुपस्थितहरूको नाममा समेत भोट हालिएको थियो।

हुम्लामा प्रतिनिधि छनोट भइसके पनि सूची सार्वजनिक गरिएको छैन। बोगटीको गृह जिल्ला हुँदाहुँदै पनि जिल्ला कमिटीमा कँडेल समूहको वर्चस्वले प्रतिनिधि छनोटमा सकस भएको बताइएको छ। हुम्लाबाट चयन भएका ६ मध्ये ५ जना कँडेल समूहका र १ जना मात्रै बोगटी पक्षकी प्रतिनिधि रहेका छन्। त्यस्तै, सुर्खेत–१ बाट पनि प्रतिनिधि चयन भइसकेका छन् तर सूची सार्वजनिक गरिएको छैन, र सबै कँडेल समूहकै रहेको बुझिएको छ।

कर्णालीका चार जिल्लामा अझै प्रतिनिधि चयन टुंगिन सकेको छैन। सर्वसम्मतिको प्रयास भइरहेको बताइए पनि आन्तरिक किचलोका कारण प्रक्रिया सुस्त देखिन्छ। प्रदेशका अन्य ६ जिल्लामा भने प्रतिनिधि छनोट भइसकेको छ। रुकुम पश्चिममा निर्वाचन भएको थियो भने सल्यानमा विवाद चर्किएको छ।

अघिल्लो संरचनामा एमालेभित्र ओली र माधव नेपाल समूहबीच सन्तुलन जस्तै रहे पनि नेपालले नयाँ पार्टी बनाएपछि कर्णालीमा नेतृत्व ओली समूहतर्फ झुकेको देखिन्छ। त्यसपछि कर्णालीमा बोगटी समूहलाई निषेध गर्दै संस्थापन समूहले प्रतिनिधि छनोटमा एकलौटी चलाएको आरोप नेताहरूले लगाएका छन्। केही नेताहरूका अनुसार कर्णालीमा संस्थापन इतर पक्ष खुलेर काम गर्न सक्ने अवस्था नभए पनि लुकेर ईश्वर पोखरेललाई २० प्रतिशतसम्म मत जान सक्ने अनुमान गरिएको छ।

डोल्पाबाट प्रतिनिधिमा चयन भएका नन्दसिंह बुढा भने विवादास्पद व्यक्तित्वका रूपमा चर्चित छन्। अख्तियारले ‘नक्कली विद्यालय’ प्रकरणमा मुद्दा दायर गरेको उनको नाम विगतमा ‘फ्लोर क्रस’ प्रकरणमा पनि जोडिएको थियो। कर्णाली प्रदेशबाट ११३ जना प्रतिनिधि मात्रै छनोट हुने भएकाले अहिले चलिरहेको गुट–प्रतिस्पर्धाले प्रदेश रणनीति र परिणाममा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रतिक्रिया