अस्वाभाविक बल प्रयोगको पीडा पोख्दै बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले दिए राजीनामा

nepaltext.com

काठमाडौं । बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरिसकेका पाठकले बुधबार औपचारिक रूपमा उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एप मार्फत राजीनामा पत्र पठाएका हुन् ।

संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम उपसभामुख समक्ष बुझाइएको पत्रमा पाठकले भदौ २३ गतेको भ्रष्टाचारविरुद्ध र सुशासन पक्षको प्रदर्शनमा भएको अस्वाभाविक बल प्रयोगले आफूलाई गहिरो रूपमा पीडित बनाएको उल्लेख गरेका छन् । राष्ट्र शोकमा डुबिरहेको बेला, नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन उचित नलागेको कारण पदत्याग गरेको उनले स्पष्ट पारेका छन् ।

पाठकले भदौ २४ गते सामाजिक सञ्जालमार्फत नै राजीनामाको घोषणा गरेका थिए तर प्राविधिक कारणले तत्काल कानुनी प्रक्रिया पूरा गर्न नसकेको बताउँदै आज मात्र आधिकारिक पत्र बुझाएका हुन् । राजीनामा पत्रको प्रतिलिपि प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई समेत पठाइएको छ ।

२०७९ पुस २८ गते राप्रपाको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका पाठक एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको संयुक्त समर्थनमा ६४ मत प्राप्त गरी सभामुख निर्वाचित भएका थिए ।

प्रतिक्रिया