भोटेकोशी बाढीः चाडपर्वका सामान बगाएपछि व्यवसायीलाई अर्बौंको क्षति

nepaltext

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले नेपाल–चीन व्यापारको प्रमुख नाका रसुवागढीमा ठूलो क्षति पुर्‍याएपछि चाडपर्व लक्षित व्यापारका लागि सामान आयात गरेका व्यवसायी संकटमा परेका छन्।

बाढीले रसुवागढी नाका, सयौँ कन्टेनर तथा ठूलो संख्यामा मालवाहक र यात्रुवाहक सवारीसाधनमा क्षति पुर्‍याएको छ। बाढीका कारण तीज, दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी चीनबाट आयात गरिएका अर्बौं रुपैयाँ बराबरका लत्ताकपडा, विद्युतीय सामग्री, कच्चापदार्थ तथा अन्य व्यापारिक सामान बगेका छन्।

नेपालमा चाडपर्वका समयमा खपत हुने अधिकांश लत्ताकपडा, विद्युतीय सामग्री तथा विभिन्न कच्चापदार्थ उत्तरी नाका हुँदै चीनको केरुङबाट रसुवागढी भएर भित्रिने गर्छन्। व्यवसायीहरू सामान्यतः भदौदेखि सुरु हुने चाडपर्वलाई लक्षित गरी असार–साउनमै चीन पुगेर सामान खरिद तथा आयात गर्ने गर्छन्।

सिन्धुपाल्चोकको तातोपानी नाका लामो समयदेखि बन्द रहेकाले पछिल्लो समय रसुवागढी नाकामाथि व्यवसायीको निर्भरता झन् बढेको थियो। यही समयमा आएको बाढीले नाकामा रोकिएका र नेपालतर्फ ल्याउने तयारीमा रहेका ठूलो परिमाणका सामान बगाएपछि व्यवसायीलाई ठूलो आर्थिक क्षति भएको हो।

न्युरोड ओटुमा लामो समयदेखि व्यापार गर्दै आएका राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोज श्रेष्ठले दसैँ–तिहारका लागि ल्याउँदै गरेको करिब ३५ लाख रुपैयाँ बराबरको सामान बाढीले बगाएको बताए।

“दसैँ, तिहारका लागि भनेर झण्डै ३५ लाख रुपैयाँ बराबरको सामग्री आउँदै थियो। भदौ १० गते आएको बाढीले सबै सामान बगायो। सामान नहुँदा दसैँ, तिहारमा व्यापार गर्न नसकिने अवस्था आएको छ,” उनले भने।

त्यस्तै, फसिकेवमा व्यापार गर्दै आएका वीरेन्द्र श्रेष्ठले तीजलाई लक्षित गरी आयात गरेका महिलाका ब्यागलगायतका सामान बाढीले बगाउँदा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको बताए।

भोटेबहालमा महिलाका भित्री कपडालगायत सामग्रीको थोक व्यापार गर्दै आएका रवि खड्काको पनि बाढीले सबै सामान बगाएको छ। उनका अनुसार करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

न्युरोड गुच्चाटोलमा टोपीको थोक व्यापार गर्दै आएका अर्जुन हुमागाईंले पनि करिब ५० लाख रुपैयाँ बराबरको सामान गुमाएका छन्। न्युरोडकै फसिकेवमा बेल्ट तथा पर्सको व्यापार गर्दै आएका विष्णु न्यौपानेले दसैँका लागि ल्याएका सबै सामान बाढीले बगाउँदा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको बताए।

यी व्यवसायीको क्षति भने प्रतिनिधिमूलक मात्र हो। काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्युरोडका हजारौँ व्यवसायीले भोटेकोशी बाढीका कारण ठूलो आर्थिक क्षति व्यहोरेका छन्। न्युरोडस्थित नेपाः कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, महाबौद्ध, ओटु लगायतका क्षेत्रमा दसैँलाई लक्षित गरी ल्याइएका अर्बौं रुपैयाँ बराबरका सामान बाढीले बगाएको व्यवसायीहरूको भनाइ छ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठका अनुसार चाडपर्वका लागि केरुङ नाका हुँदै ल्याइएका करिब २५० कन्टेनर सामान बाढीले बगाउँदा व्यवसायीले अर्बौं रुपैयाँको क्षति व्यहोरेका छन्।

उनका अनुसार तीमध्ये ७६ कन्टेनर सामान भन्सार पास भएर काठमाडौं ल्याउने तयारीमा थिए। यसैगरी, सामान लिनका लागि भन्सार नाकातर्फ जाँदै गरेका करिब २५० मालवाहक सवारीसाधनसमेत बाढीमा परेको उनले बताए।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष कुमार कार्कीले केरुङ नाका नेपाल–चीन व्यापारका लागि छोटो र सहज मार्ग भएकाले पछिल्लो समय यसै नाकाबाट ठूलो परिमाणमा सामान आयात हुँदै आएको बताए।

“छोटो नाका भएकाले सामान आयात गर्न सहज हुन्छ। त्यसैले धेरै मालसामान यही नाका हुँदै आउने गरेको छ। चाडपर्वका लागि नाकामा ल्याएर राखिएको अर्बौं रुपैयाँको सामान भोटेकोशी बाढीले बगाउँदा व्यवसायी समस्यामा परेका छन्,” उनले भने।

बाढीबाट व्यापारिक सामानसँगै ठूलो संख्यामा सवारीसाधनमा समेत क्षति पुगेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार करिब ६०० मालवाहक सवारीसाधनमा क्षति पुगेको छ।

महासङ्घका महासचिव डेकनाथ गौतमले भने बाढीका कारण एक हजारभन्दा बढी मालवाहक तथा यात्रुवाहक सवारीसाधनमा क्षति पुगेको बताएका छन्।

“चाडपर्वको पूर्वसन्ध्यामा सामान लिन भन्सार नाका पुगेका सयौँ मालवाहक सवारीसाधन बाढीमा परेका छन्,” उनले भने।

वर्षायामका कारण नेपालतर्फको सडक अवस्था कमजोर हुँदा चीनबाट भित्रिएका ठूलो परिमाणका सामान र कन्टेनर रसुवागढी नाकामै रोकिएर बसेका थिए। यही क्रममा आएको बाढीले भन्सारमा रहेका रेडिमेड सामानसँगै महँगा विद्युतीय सवारीसाधन (ईभी) समेत बगाएको छ।

महासङ्घका महासचिव गौतमका अनुसार भन्सारमा रहेका विद्युतीय सवारीसाधन, सामान लिन पुगेका मालवाहक तथा यात्रुवाहक सवारीसाधन र गोसाइँकुण्ड दर्शनका लागि गएका सवारीसाधनसमेत गरी करिब एक हजार ३०० सवारीसाधनमा बाढीले क्षति पुर्‍याएको छ।

यसरी चाडपर्वको पूर्वसन्ध्यामा व्यापारिक सामान र सवारीसाधनमा भएको ठूलो क्षतिले एकातिर व्यवसायीलाई प्रत्यक्ष आर्थिक भार थपेको छ भने अर्कोतर्फ दसैँ–तिहारजस्ता प्रमुख पर्वमा बजारमा सामानको आपूर्ति प्रभावित हुने जोखिमसमेत बढेको छ।

प्रतिक्रिया