भदौ ३० देखि देशभर सहुलियत मूल्य पसल सञ्चालन, चाडपर्वमा उपभोक्तालाई छुट

nepaltext.com

आसन्न चाडबाडलाई लक्षित गर्दै सरकारले भदौ ३० गतेदेखि देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपभोक्तालाई सुपथ मूल्यमा खाद्य तथा उपभोग्य सामग्री उपलब्ध गराइनेछ।

मन्त्रालयका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार आवश्यक तयारी पूरा भइसकेको छ र कम्पनीहरूलाई सञ्चालनका लागि परिपत्रसमेत पठाइसकिएको छ।

खाद्य व्यवस्था कम्पनीले ४६ जिल्लामा सहुलियत पसल सञ्चालन गर्नेछ। ती पसलमार्फत चामल, दाल, गहुँ, गेडागुडी र चिनीमा प्रतिकिलो रु ५ छुट दिइनेछ। चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो रु ७ छुट हुनेछ भने खाने तेलमा प्रतिलिटर रु ७ छुट पाउने उपभोक्ता छन्। साथै, कर्णालीका रैथाने उत्पादन—जस्तै जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तितेफापरमा प्रतिकिलो रु १० छुट दिइनेछ। जिरा, धनिया, चिया, जीवित खसी–बोका र च्याङ्ग्रामा पनि समान छुटको व्यवस्था गरिएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकामा तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ। उपत्यकाबाहेक अन्य जिल्लामा पनि साल्ट ट्रेडिङले चाडबाड अवधिभर छुट दिनेछ। यस संस्थाले नुनमा प्रतिकिलो रु २, चिनीमा प्रतिकिलो रु ५, तेलमा प्रतिलिटर रु ७ र चिउरा, दाल, पिठो तथा मैदामा प्रतिकिलो रु ७ छुट दिने जनाएको छ।

सरकारका अनुसार चाडबाडका बेला निजी क्षेत्रको एकाधिकार रोक्दै बजार मूल्यमा नियन्त्रण ल्याउन र गुणस्तरीय वस्तु सहज रूपमा उपभोक्तासम्म पुर्‍याउन यस्ता पसल सञ्चालन गरिँदै आएका हुन्।

प्रतिक्रिया