काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ राम कुमारी झाँक्रीले समाजवादी पार्टीसँगको आफ्नो राजनीतिक यात्रा टुंगिएको घोषणा गरेकी छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेतृ झाँक्रीले यो यात्राको अन्त्य हुँदा आफूलाई कुनै ठूलो दुखेसो नभएको बताइन्। बरु, उनले यसलाई एक हिसाबले “खुशीको अन्त्य” का रूपमा लिएकी छन्।
उनका अनुसार समाजवादी पार्टीसँगको यात्रा गलत दिशामा लागेको कुरा सुरुमा नै थाहा भए पनि सुधारका प्रयासका कारण तत्काल छोड्न नसकेको हो।
उनले भनिन्, “यो यात्रा अवरुद्ध छ भन्ने कुरा हामीले धेरै अघि नै थाहा पाएका थियौँ। गलत बाटो हो भन्ने पनि थाहा थियो, तर सुधार गर्ने जिम्मेवारीका कारण बीचमै छोड्न सकेनौँ। अब भने यो यात्रा टुंगिएको छ, र हामी एक हिसाबले खुशी नै छौँ।”
झाँक्रीले नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणका क्रममा एउटा अभियानको विश्वासका साथ लागेको भए पनि त्यो विश्वास अब समाप्त भएको स्पष्ट पारिन्।
उनले भनिन्, “पार्टी निर्माणका बेला हामीले एउटा अभियान चल्नेछ भन्ने विश्वास गरेका थियौँ। तर त्यो विश्वास पनि आजबाट टुंगिएको छ। समाजवादी पार्टीसँगको यात्रा पार्टी विघटनसँगै सकिएको हो।”
उनका अनुसार पार्टी विघटनसँगै नयाँ राजनीतिक यात्रा सुरु हुने तयारी भइरहेको छ। “हामीसँग आफ्ना आइडियाहरू छन्, साथिहरू छन्। त्यसकै आधारमा नयाँ बाटो अघि बढ्दैछौँ। आज दिउँसो १ बजे नयाँ पार्टीको औपचारिक घोषणा हुँदैछ,” झाँक्रीले भनिन्।
नेतृ झाँक्रीले समाजवादी पार्टी निर्माण त्यस्तो समयमा भएको स्मरण गरिन्, जब दलभित्रको आन्तरिक लोकतन्त्र संकुचित हुँदै थियो।
उनले भनिन्, “त्यो बेला जनतामा भरोसा बाँकी थियो, त्यसलाई डोर्याउन सक्ने विश्वासले हामी अघि बढेका थियौँ। तर समयले त्यो पार्टी विर्सजन गर्न बाध्य बनायो,” उनले दुःख व्यक्त गरिन्।