काठमाडौं — स्थानीय प्रशासनको अनुमति बिना माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेडका ५० जना सदस्यलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, प्रदर्शनका लागि अनुमति नलिएर सार्वजनिक स्थानमा जमघट गरिएको र अन्य जेनजी समूहहरूसँग सम्भावित झडपको जोखिम देखिएकाले सुरक्षाका दृष्टिले नियन्त्रणमा लिनु परेको हो। पक्राउ परेकामध्ये २४ महिला र २६ पुरुष रहेका छन्। जेनजी युनाइटेडका अगुवा मदन कार्कीले प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुमति माग्दा नपाएको दाबी गरे। उनले भने, “हामी शान्तिपूर्ण र स्वतन्त्र रूपमा आवाज उठाउन आएका थियौं, तर अनुमति नदिई प्रहरीमार्फत नियन्त्रणमा लिइयो। यो लोकतान्त्रिक अभ्यासविरुद्धको कदम हो।” कार्कीका अनुसार, जेनजीबीच एकता र सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको प्रदर्शन रोकिँदा सहभागीहरू निराश बनेका छन्।