एसीसी प्रिमियर कप आजबाट शुरु हुँदै, नेपालको उपाधि जित्ने लक्ष्य
nepaltext
१४ भदौ २०८३, आईतबार
काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेट आजदेखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा १० टोलीले सहभागिता जनाउँदैछन्।
प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुँदैछन्। पहिलो खेलमा ओमान र सिंगापुर तथा दोस्रो खेलमा हङकङ र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान ७ः१५ बजे सुरु हुनेछन्।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा आयोजक मलेसिया, नेपाल, बहराइन, हङकङ र साउदी अरेबिया छन्। समूह ‘बी’मा कुवेत, ओमान, कतार, सिंगापुर र युएई रहेका छन्।
प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो स्थानमा रहने टोलीले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछन्।
नेपालले घरेलु मैदानमा भएको पहिलो संस्करणको एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो। तर दोस्रो संस्करणमा चौथो स्थानमा सीमित भएपछि नेपाल एसिया कप खेल्नबाट वञ्चित भएको थियो।
यसपटक भने नेपाल उपाधि जित्दै एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको छ। मलेसिया जानुअघि नेपालले भारतमा कर्नाटक क्रिकेट टोलीसँग दुई अभ्यास खेल खेलेको थियो। त्यसपछि मलेसियामा घरेलु टोलीविरुद्ध खेलेका दुवै अभ्यास खेलमा जित निकालेपछि नेपाली टोली उच्च मनोबलमा छ।
सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिने नेपालले सोमबार बहराइनसँग खेल्दै प्रतियोगिताको यात्रा सुरु गर्नेछ। नेपालले दोस्रो खेल सेप्टेम्बर ३ मा मलेसियासँग, तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग र समूह चरणको अन्तिम खेल सेप्टेम्बर ८ मा हङकङसँग खेल्नेछ।