न्युरोडस्थित रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना, म्याद नाघेको सिरप र तेलमा मरेको साङ्ला भेटियो

nepaltext

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिका-२२, न्युरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालि लाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएपछि कारबाही गरेको छ।

विभागले असार १९ गते गरेको निरीक्षणका क्रममा रेस्टुरेन्टमा म्याद नाघेको फ्रुट सिरप (स्क्वास) प्रयोग भइरहेको, पिज्जा बेस तयार गर्न प्रयोग गरिने तेलमा मरेको साङ्ला भेटिएको तथा फ्रिजमा खाद्य सामग्रीको भण्डारण अव्यवस्थित रहेको पाइएको जनाएको छ। निरीक्षणका क्रममा सरसफाइको अवस्था सामान्य रहेको र प्रयोगमा रहेको तेलको टीपीएम २२.० मापन भएको विभागले उल्लेख गरेको छ।

अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त व्यवसायलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ।

यसैगरी, विभागले रेस्टुरेन्टलाई निरीक्षणका क्रममा देखिएका सबै कैफियत तीन दिनभित्र सुधार गरी प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

अनुगमनका क्रममा भेटिएको म्याद नाघेको तथा पूर्ण लेबल विवरण नभएको दुई बोतल स्क्वास नष्ट गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया