दोलखा। नेपाली कांग्रेसको आगामी १५ औं महाधिवेशनलाई लक्षित गरी देशव्यापी रूपमा सञ्चालित अभियानको प्रभाव दोलखा जिल्लामा तीव्र देखिएको छ । कांग्रेसको तल्लो तहसम्म संगठन सुदृढीकरण गर्ने उद्देश्यका साथ सुरु भएको जरा अभियान अन्तर्गत दोलखामा क्रियाशील सदस्यहरूको विवरण डिजिटल रूपमा अद्यावधिक गर्ने कार्यले गति लिएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयले पुराना क्रियाशील सदस्यहरूको विवरणलाई पूर्ण रूपमा प्रविधिमैत्री र व्यवस्थित बनाउन यो प्रक्रिया अघि बढाएको हो । यसअघि गत पुस महिनामा नियमित महाधिवेशन गर्ने कार्यतालिका अनुसार नवीकरण भएका सदस्यहरूको विवरणलाई अहिले अनलाइन प्रणालीमा रूपान्तरण गर्न लागिएको कांग्रेसले जनाएको छ ।
यस अभियान अन्तर्गत दोलखाका शीर्ष नेतादेखि गाउँ तहका कार्यकर्ताहरूले धमाधम अनलाइन माध्यमबाट आफ्नो सदस्यता अद्यावधिक गरिरहेका छन् । हालसम्म सदस्यता अद्यावधिक गर्नेहरूमा संविधानसभा सदस्य एवं पूर्व केन्द्रीय कार्यसम्पादन समिति सदस्य जीपछिरिङ लामा, केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटी, प्रदेश कार्यसमिति सदस्य दावादोर्जे लामा, र जिल्ला कार्यसमिति सभापति बर्मा लामा रहेका छन् ।
त्यस्तै, जिल्ला उपसभापतिय छबि लामा र अर्जुन शिवाकोटी लगायत सयौँ अगुवा नेता तथा कार्यकर्ताहरूले प्रविधिको प्रयोग गरी आफ्नो सदस्यता डिजिटल प्रणालीमा दर्ता गराइसकेका छन् । शीर्ष नेतृत्वले नै प्रविधिलाई आत्मसात गरेपछि आम कार्यकर्तामा पनि यसप्रति आकर्षण बढेको जिल्ला नेतृत्वको बुझाइ छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सूचना प्रविधि तथा अनलाइन सदस्यता अद्यावधिक विभागका अनुसार हालसम्म दोलखा जिल्लाबाट मात्रै १ हजार ९ सय १७ जनाले अनलाइन प्रविधिको प्रयोग गरी आफ्नो सदस्यता अद्यावधिक गराइसकेका छन् ।
विशेष गरी पछिल्ला दिनहरूमा यो संख्या निकै तीव्र गतिमा बढिरहेको विभागले जनाएको छ । विभागका कर्मचारी दुर्गा घिमिरेका अनुसार पछिल्लो तीन दिनमा अनलाइन प्रणालीमा विवरण अद्यावधिक गर्नेहरूको चाप उल्लेख्य रूपमा बढेको छ ।
कांग्रेसले आफ्नो परम्परागत अभिलेखीकरण प्रणालीलाई विस्थापित गर्दै केन्द्रीय स्तरमै डिजिटल डाटाबेस निर्माण गर्ने नीति लिएसँगै दोलखामा पनि यसको प्रत्यक्ष प्रभाव देखिएको हो । महाधिवेशनको आन्तरिक तयारी र प्राविधिक रूपान्तरण दुवैलाई सँगै लैजाँदा संगठन थप पारदर्शी र सुदृढ हुने विश्वास कांग्रेस वृत्तमा गरिएको छ ।