काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध आएपछि घरबाट फोहर बाहिर ननिकाल्न महानगवासीलाई अनुरोध गरेको छ। वातावरण व्यवस्थापन विभागले जारी गरेको सूचनामा महानगरले सडक तथा सार्वजनिक स्थलमा जथाभावी फोहर नफाल्न विशेष ध्यान दिन आग्रह गरेको छ।
महानगरपालिकाका अनुसार, “काठमाडौं उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोधका कारण फोहर विसर्जन गर्न सकिएको छैन। अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निस्कने फोहरलाई सुरक्षित तरिकाले घर वा कम्पाउण्डमै राख्न र सार्वजनिक स्थलमा फाल्न नहुन अनुरोध छ।”
स्थानीय बासिन्दाहरूले फोहर व्यवस्थापनमा दीर्घकालीन समाधान नपाएको भन्दै आन्दोलन थालेका कारण बुधबारदेखि बञ्चरेडाँडामा फोहर विसर्जन रोकिएको हो। काठमाडौं उपत्यकाबाट फोहर बोक्ने करिब ४० गाडी बुधबार स्थानीयले फर्काइदिएका थिए।
महानगरपालिकाले समस्या समाधान नभएसम्म जनतालाई संयमित भएर फोहर व्यवस्थापन गर्न र सार्वजनिक स्थलमा फोहोर नफाल्न ध्यान दिन आग्रह गरेको छ।