दुर्गा प्रसाईँको पक्राउप्रति डा. धवलशम्सेर राणाको आपत्ति, तत्काल रिहाइको माग

श्याम खतिवडा

काठमाडौं । राप्रपाबाट अलग भएर नयाँ पार्टी दर्ताको तयारीमा रहेका नेता डा. धवलशम्सेर राणाले एउटै अभियानमा रहेका दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेकोप्रति कडा आपत्ति जनाएका छन्। हिजो राती प्रहरीले आफ्नै घरबाट पक्राउ गरेका प्रसाईँलाई तत्काल रिहाइ गर्न माग गर्दै डा. राणाले आज एक विज्ञप्ति जारी गरेका हुन्।

विज्ञप्ति जारी गर्दै डा. राणाले नागरिकको मौलिक हकमाथि सरकारले प्रहार गरेको आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘यही सन्दर्भमा विश्वव्यापी रूपमा स्थापित मानव अधिकार र संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण राष्ट्रवादी नेता दुर्गा प्रसाईँलाई सरकारले हिजो साउन १७ गते राति उहाँको निवासबाट पक्राउ गर्नु निन्दनीय छ ।’

यसैगरी, उनले कुनै पनि लोकतान्त्रिक व्यवस्थामा आलोचना, फरक मत र मत-अभिमत नै आधारस्तम्भ हुने कुरामा जोड दिएका छन्। विचार र अभिव्यक्तिको स्वतन्त्रता नभएको शासन प्रणाली लोकतान्त्रिक हुनै नसक्ने टिप्पणी गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन र समाजको उन्नति–प्रगतिका लागिसमेत विचार एवं अभिव्यक्ति स्वतन्त्रता आधारभूत छन्। सरकारको आलोचना गर्नै नपाइने हो भने, त्यस्तो शासन प्रणाली लोकतान्त्रिक रहन सक्दैन ।’

प्रतिक्रिया