अन्नपूर्ण न्युरो हस्पिटलद्वारा विपद् पीडितका लागि ३० लाख सहयोग

nepaltext

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अन्नपूर्ण न्युरो हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेको छ।

अस्पताल व्यवस्थापन र कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम कोषमा प्रदान गरिएको अस्पतालको लेखा शाखाले जनाएको छ। देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले अस्पताल परिवारले उक्त योगदान गरेको हो।

अस्पतालका अनुसार यो सहयोग आर्थिक योगदानमा मात्र सीमित नभई विपद्मा परेका नागरिकप्रतिको ऐक्यबद्धता, सहानुभूति र सामाजिक उत्तरदायित्वको अभिव्यक्ति हो। स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो मुख्य दायित्व भए पनि संकटको समयमा समाजसँगै उभिनु पनि संस्थागत जिम्मेवारी भएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका उपनिर्देशक डा. शरदहरि गजुरेलले विपद्को कठिन घडीमा राज्यका उद्धार तथा राहत प्रयासमा साथ दिन अस्पताल व्यवस्थापन र कर्मचारीहरूले संयुक्त रूपमा ३० लाख रुपैयाँ सहयोग गरेको जानकारी दिए।

‘विपद्मा परेका नागरिकको पीडा हाम्रो पनि पीडा हो’ भन्ने भावनाका साथ गरिएको सहयोगले उद्धार तथा राहतमा खटिएका निकायलाई थप सहयोग पुग्ने विश्वास अस्पतालले व्यक्त गरेको छ।

अस्पताल परिवारले विपद्का बेला सानो सहयोगले पनि पीडित नागरिकमा ठूलो आशा जगाउन सक्ने भन्दै निजी क्षेत्र, संघसंस्था तथा सर्वसाधारणलाई समेत आ–आफ्नो क्षमताअनुसार सहयोग र सहकार्य गर्न आग्रह गरेको छ।

अन्नपूर्ण न्युरो हस्पिटलको यो पहलले स्वास्थ्य संस्थाको सामाजिक उत्तरदायित्व उपचार सेवामा मात्र सीमित नभई संकटमा परेको समाजसँगै उभिनेसम्म विस्तार हुनुपर्ने सन्देश दिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया