दोलखा, ९ भदौ ।
दोलखाको कालिञ्चोक गाउँपालिका–५ र ६ का १५ जना कृषकलाई कृषि उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न कृषि सामग्री वितरण गरिएको छ।
नेपाल सहायता फाउन्डेसनको आर्थिक सहयोग तथा कालिञ्चोक एकीकृत सामुदायिक विकास केन्द्रको साझेदारीमा सञ्चालित नेपाल हरित गृह कार्यक्रम अन्तर्गत कृषकलाई कृषि सामग्री वितरण गरिएको हो।
कार्यक्रममार्फत कृषकहरूलाई प्लास्टिक टनेल, हजारी, गार्डेन पाइप, टनेल बाँध्ने फिता, एलोस्टिक लगायतका सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। त्यस्तै, कृषकलाई काउली, मुला, रायो, सिमी र गोलभेडा लगायतका विभिन्न तरकारीका बीउसमेत उपलब्ध गराइएको कालिञ्चोक सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक राजन क्षेत्रीले जानकारी दिए ।
कृषि सामग्री र बीउ वितरणले स्थानीय कृषकलाई व्यावसायिक तथा आधुनिक तरकारी खेतीतर्फ प्रोत्साहित गर्दै उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी प्लास्टिक टनेलको प्रयोगले प्रतिकूल मौसममा समेत तरकारी उत्पादन गर्न सहज हुने र कृषकको आम्दानी बढाउन मद्दत पुग्ने कार्यक्रमको उद्देश्य छ।
महिला जनप्रतिनिधि जितकुमारी गजमेरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषकको कृषि उत्पादनलाई दिगो र व्यावसायिक बनाउने तथा स्थानीयस्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने विषयमा जोड दिइएको थियो।
नेपाल हरित गृह कार्यक्रमले आगामी दिनमा पनि स्थानीय कृषकको आवश्यकता र उत्पादन क्षमताका आधारमा कृषि प्रविधि तथा सामग्री सहयोगलाई निरन्तरता दिने जनाएको छ।