जापानमा ५.९ म्याग्निच्युडको भूकम्प

nepaltext

काठमाडौं । जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको शक्तिशाली धक्का टोकियोसहित आसपासका क्षेत्रमा महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार इबाराकी प्रिफेक्चरको दक्षिणी क्षेत्रमा ७० किलोमिटर गहिराइमा भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको तीव्रता ५.८ म्याग्निच्युड रहेको जनाएको छ ।

भूकम्पका कारण इबाराकी, चिबा र साइतामा प्रिफेक्चरमा कम्तीमा पाँच जना घाइते भएका छन् । थप मानिस घाइते भएको हुनसक्ने भन्दै स्थानीय अधिकारीहरूले विवरण संकलन गरिरहेका छन् ।

भूकम्पपछि टोकियो र नारिता विमानस्थल जोड्ने एक्सप्रेस रेललगायत केही स्थानीय रेल सेवामा ढिलाइ भएको थियो । यद्यपि, शिन्कान्सेन बुलेट ट्रेन भने सामान्य रूपमा सञ्चालनमा रहेको बताइएको छ ।

भूकम्पका कारण टोकियोको कोतो क्षेत्रमा भूमिगत पानीको पाइप फुटेको थियो भने करिब ४६० घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । अवरुद्ध विद्युत् सेवा आइतबार बिहानसम्म पुनः सञ्चालनमा आएको जनाइएको छ ।

अधिकारीहरूले भूकम्पपछि सुनामीको खतरा नरहेको स्पष्ट पारेका छन् । जापानका आणविक ऊर्जा केन्द्रहरूमा पनि कुनै असामान्य अवस्था नदेखिएको बताइएको छ ।

प्रतिक्रिया