दोलखा, १६ असार,,
दोलखाको विगू गाउँपालिका वडा नं. १ मा निर्माणाधिन जुम खोला जलविद्युत आयोजनाको क्षमता ५६ मेगावाट बढेर ७० मेगावाट हुने भएको छ । आयोजनाको टेलरेस राख्ने देउरालीमा भिषण पहिरोका कारण ठाउँ सार्दा आयोजनाको क्षमता बढेको हो । २०८२ जेठ १८ गते र असोज २१ गते देउरालीभन्दा तल भीषण पहिरो गएको थियो । पहिरो नियन्त्रण काबु बाहिर गएपछि टेलरेस आउटलेट स्थानान्तरण गरेको हो ।
टेलरेस आउटलेट स्थानान्तरणसँगै आयोजनाको हेड र डिजाइन डिस्चार्ज बढेपछि आयोजनाको १४ मेगावाट क्षमता समेत बढेको छ । पहिरो गएपछि सानिमा जुलले प्राविधिक अध्ययन टोली खटाएको थियो । प्राविधिक टोलीकै सिफारिस अनुसार आउटलेट स्थानान्तरण र क्षमता बढाएको सानिमा जुम हाइड्रोपावर लिमिटेडका महाप्रबन्धक सकुन्द ओझाले जानकारी दिए । उनका अनुसार आउटलेट तल्लो तटीय क्षेत्रमा स्थानान्नन्तरण गर्दा ३० मिटर हेड बढेको छ । बढेको लागत बारे विश्लेषण भइरहेको समेत उनले बताए ।
सुरुङको लम्बाइ बढेको र आयोजनाको क्षमता समेत बढेपछि पुरक वातावरणीय प्रभाव मूल्याङ्कनको मस्यौदामाथि आइतबार लामाबगरमा सार्वजनिक सुनुवाइ गरी जानकारी गराइएको छ । सार्वजनिक सुनुवाइमा आयोजनाका तर्फबाट महाप्रबन्धक ओझाले स्थानीयका जिज्ञासाको जवाफ दिएका थिए । सार्वजनिक सुनुवाइमा कृषि, वन, वातावरण मन्त्रालयका सुरेन्द्रराज पन्त, विद्युत विकास विभागका ध्रुवराज पौडेल प्रतिनिधिहरुले आ–आफ्ना क्षेत्रसँग उठेको प्रश्नको जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाइमा गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रतिनिधि, स्थानीय संरक्षण व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय सरकार, सुरक्षा प्रमुखहरु र स्थानीयहरुको उपस्थिति थियो । स्थानीयले सीप र क्षमता अनुसारको रोजगारी, सेयर, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा आयोजनाले सहयोग गर्नु पर्ने लगायतका माग राखेका थिए । आयोजनाले सडक र सुरुङ खन्दा निस्केका ढुङ्गा माटो तल्लो तटीय क्षेत्रमा असर नपर्ने गरी व्यवस्थापन गर्न समेत सुझाव दिए ।
क्षमता बढेपछि आयोजनाको अवस्था
पानीको डिजाइन अधिकतम् वहाव २८.६८ घनमिटर प्रतिसेकेण्ड आयोजनाले उपयोग गर्नेछ । आयोजनाको सम्पूर्ण संरचना जुम खोलाको बायाँ किनारमा प्रस्ताव गरिएको उनले बताए । नेपाल–चीन सिमाबाट १.५ किलोमिटर तल्लो तटिय क्षेत्र र लप्ची खोला र जुम खोलाको दोभानबाट १.५ किमी माथिल्लो तटीय क्षेत्रमा ६८ मिटर लम्बाइ, १२ मिटर चौडाइ र ७.६२ मिटर उचाइको बाँध निर्माण हुने छ ।
बालुवा थिग्र्याउनका लागि २ वटा पोखरी समेत भुमिगत नै निर्माण हुने छ । त्यसबाट १ हजार ४२० मिटर लामो सुरुङ, ४५ मिटर उचाइको सर्जसाफ्ट, २५२ मिटर ठाडो पेनस्टक साफ्ट र १५६ मिटर लामो तस्रो पेनस्टक साफ्टपछि विद्युत गृहमा २३.३३ मेगावाटका ३ वटा टर्वान र जेनेरेटर मार्फत ७० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । विद्युत गृहबाट निस्केको पानीलाई २ हजार २५ मिटर लामो टेलरेसमार्फत पनः तामाकोसीमा पानी खसाल्ने योजना बनाएको छ ।
आयोजनाबाट ३९२।९१ गिगाहर्ज वार्षिक विद्युत उत्पादन हुने छ । आयोजनाको क्षमता बढेसँगै सरकारलाई तिर्ने राजश्व र रोयल्टी समेत बढ्ने छ । आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन सानिमा हाइड्रो एण्ड इञ्जिनियरिङ प्रालिले गरेको हो । आयोजनाको अनुमानित लागत ११ अरब ५० करोड रहेको छ । आयोजनाबाट उत्पादित विद्युत ४६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत प्राधिकरणको बाह्रविसे सबस्टेशनमा जोडिने छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) २०७७ असोज २७ गते वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरे तापनि क्षमता बढेका कारण परक इआइए गर्नु पर्ने भएको छ । वातावरण संरक्षण ऐन २०७६ दफा ११ को उपदफा १ अनुसार गत चैत २४ गते तत्कालीन वन तथा मन्त्रालयबाट सहमति लिएर पुरक प्रतिवेदन तयार गरेको आयोजनाले तयार गरेको हो ।
आयोजनाका लागि स्थायी रुपमा ८.०३६ हेक्टर र अस्थायी रुपमा ७.१३६ हेक्टर गरी कुल १५.१७२ हेक्टर जमिन उपयोग गर्ने प्रतिवेदनमा छ । आयोजनामा निजी जग्गा पर्दैन । आयोजनाको क्षमता बढे तापनि जग्गा उपयोग नबढ्ने उल्लेख छ । वन क्षेत्रको जग्गा भोगाधिकार र आयोजनामा १८ प्रजातिका ८५१ वटा रुख काट्ने अनुमति डेढ वर्ष अघि नै प्राप्त गरेको छ ।
वन क्षेत्रको क्षति पूरा गर्न गौरीशंकर संरक्षण क्षेत्रसँग समन्वय गरेर अन्य खाली क्षेत्रमा क्षति भएका एक रुख बराबर १० रुख वृक्षारोपण गरी ५ वर्षसम्म आफैंले संरक्षण गरेर हस्तान्तरण गर्ने गरी वृक्षारोपन गरी संरक्षण समेत गर्दै आएको छ । आयोजनाको वातावरणीय अध्ययन सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालिको वातावरण विभागले गरेको छ । ४ वर्ष निर्माण अवधी रहेको आयोजनाको बाँकी काम आगामी २ वर्ष भित्र पूरा गर्ने लक्ष्य राखेको छ ।
तस्बिरः आयोजनाको निर्माणाधिन स्थल र सार्वजनिक सुनुवाइका फोटो ।