काठमाडौँ । अग्रजप्रति सम्मान, अनुजलाई मार्गदर्शन र व्यावसायिक मुद्दामा प्रखर वक्ता, यी तीनै गुणको सन्तुलन मिलाउन सक्ने व्यक्तिको रूपमा चिनिन्छन्, दुर्गाराज श्रेष्ठ। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको वर्तमान उपाध्यक्ष श्रेष्ठले आसन्न साधारणसभा तथा अधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो सशक्त उम्मेद्वारी घोषणा गरेका छन्।
पटक–पटक आफ्नो कुशल व्यवस्थापकीय क्षमता प्रमाणित गरिसकेका श्रेष्ठ यसपटक 'स्ट्रङ लविङ' मार्फत निजी क्षेत्रका समस्या समाधान गर्ने र ठोस 'रिजल्ट' निकाल्ने संकल्पका साथ चुनावी मैदानमा उत्रिएका हुन्।
संघर्षदेखि सफलतासम्म: दुर्गाराजको व्यावसायिक यात्रा
दोलखाको एउटा सामान्य परिवारमा जन्मिएर आफ्नै पौरखले स्थापित भएका श्रेष्ठ परिवारका पहिलो व्यवसायी हुन्। पोखरा विश्वविद्यालयबाट एमबीए उत्तीर्ण गरेका उनले व्यावसायिक धरातललाई शैक्षिक दृष्टिकोणबाट पनि बुझेका छन्।
२०६२ सालदेखि व्यवसायमा पाइला चालेका श्रेष्ठ हाल स्थापित 'इम्पोर्टर' र 'डिस्ट्रिब्युटर' हुन्। नेपाल वितरक संघको अध्यक्ष (२०७४–२०७६) भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरिसकेका उनीसँग संस्थागत नेतृत्वको लामो र परिपक्व अनुभव छ। उद्योग वाणिज्य संघ काठमाडौँको संस्थापक महासचिव तथा 'नेपाल–माल्टा चेम्बर अफ कमर्स'को कार्यकारी सदस्यका रूपमा उनले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको व्यावसायिक प्रतिनिधित्व गरिसकेका छन्।
'साइलेन्ट वर्कर'को पहिचान र समन्वयकारी भूमिका
आफ्नो कामको प्रचारभन्दा नतिजामा विश्वास गर्ने श्रेष्ठलाई यस क्षेत्रका जानकारहरू 'कुशल समन्वयकर्ता' मान्छन्। उत्पादक र वितरकबीचको खाडल पुर्दै यी दुई पक्षलाई एक–अर्काको परिपूरकका रूपमा उभ्याउन उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। स्थानीय सरकारको कर प्रणाली होस् वा भन्सारका झन्झट, श्रेष्ठले सधैँ व्यवसायीको पक्षमा दरिलो आवाज उठाउँदै आएका छन्।
यस्ता छन् दुर्गाराजका 'गेम चेन्जर' एजेन्डाहरू:
अध्यक्षका दाबेदार श्रेष्ठले बागमती प्रदेशको आर्थिक र व्यावसायिक विकासका लागि स्पष्ट मार्गचित्र (रोडम्याप) अघि सारेका छन् :
सशक्त लविङ र नीतिगत पैरवी: देशको आर्थिक मुटु मानिने बागमती प्रदेशका उद्योगीका समस्यालाई प्रदेश र केन्द्र सरकारसम्म पुर्याएर समाधान निकाल्ने।
भौतिक संरचनाको विकास: बागमती प्रदेश महासंघको आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्ने लक्ष्य।
डिजिटल फ्रेमवर्क: सहर केन्द्रित व्यवसायलाई मात्र नभई दुर्गमका साना–मझौला उद्योगलाई पनि डिजिटल प्रणालीमा आबद्ध गराउन स्थानीय तहसँग सहकार्य गर्ने।
एकद्वार प्रणाली र सहुलियत: साना व्यवसायीका लागि झन्झटिलो दर्ता प्रक्रिया अन्त्य गर्न 'एकद्वार प्रणाली' लागू गराउन पहल गर्ने।
औद्योगिक क्षेत्रको पुनर्जागरण: मयुरधाप र शक्तिखोर जस्ता घोषित औद्योगिक क्षेत्रहरूमा पूर्वाधार निर्माण र कर सहुलियत सुनिश्चित गरी उद्योगमैत्री वातावरण बनाउने।
जिल्ला/नगर संघको सबलीकरण: प्रदेशभित्रका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई आर्थिक र प्रशासनिक रूपमा सक्षम बनाउने।
"मुलुकको कुल आर्थिक कारोबारको ठूलो हिस्सा बागमती प्रदेशले ओगट्छ। त्यसैले यहाँका व्यवसायीले राज्यबाट विशेष अभिभावकत्व पाउनुपर्छ," श्रेष्ठ भन्छन्, "दुई कार्यकाल उपाध्यक्ष भएर काम गर्दा मैले समस्या र सम्भावना दुवै नजिकबाट देखेको छु। अबको नेतृत्व केवल पदका लागि होइन, नतिजाका लागि हुनेछ।"
दुई कार्यकाल उपाध्यक्षका रूपमा सफल भूमिका निर्वाह गरिसकेकाले यसपटक प्रदेशभरका जिल्ला, नगर र वस्तुगत संघका प्रतिनिधिहरूले आफूलाई नेतृत्वमा पुर्याउनेमा श्रेष्ठ विश्वस्त देखिन्छन्। व्यावसायिक हकहितका लागि 'गर्न सक्ने' र 'बोल्न सक्ने' नेतृत्वको खोजी भइरहेका बेला दुर्गाराजको उम्मेद्वारीले बागमती प्रदेशको चुनावी सरगर्मी निकै बढाएको छ।