सरकारको साथमा छौँ भन्दैमा गलत कामको समर्थन गर्न सकिँदैन : आङदेम्बे

nepaltext

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्को समयमा सरकारलाई सहयोग गर्ने भन्दैमा सरकारले गरेका गलत कामको समर्थन गर्न नसकिने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले सरकारले राम्रो काम गर्दा साथ र समर्थन गर्ने, तर बाटो बिराउँदा खबरदारी र प्रश्न उठाउनु प्रतिपक्षको जिम्मेवारी भएको बताए।

‘बाटो बिराउँदा खबरदारी र प्रश्न पनि हुन्छ। खास सहयोग यही होइन र?’ उनले प्रश्न गरे।

विनाशकारी बाढी आएको एक साता बितिसक्दा पनि सबै काम ठीकठाक भइरहेको अवस्था नरहेको भन्दै उनले सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाए। सरकारको आलोचना पूर्वाग्रह नभई नागरिकको जीवन रक्षाका लागि आवश्यक खबरदारी भएको उनको भनाइ थियो।

‘सरकारलाई कमजोर बनाउन होइन, प्रभावकारी बनाउन प्रश्न गरिरहेका छौँ,’ उनले भने।

आङदेम्बेले सरकार र सत्तारूढ दलका नेताहरूलाई प्रचारमा भन्दा उद्धार र राहतमा केन्द्रित हुन आग्रह गरे। नागरिकको जीवनसँग जोडिएको विषयलाई गालीगलौजको विषय नभई सरकार स्वयंले समीक्षा गर्नुपर्ने विषयका रूपमा लिनुपर्ने उनले बताए।

उनका अनुसार विपद्पछिको सबैभन्दा गम्भीर समस्या अहिले खोज तथा उद्धार कार्यमा देखिएको छ। विशेषगरी सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइलाई उनले अमानवीय र गम्भीर विषयका रूपमा टिप्पणी गरे।

सरकार फिल्डमा भन्दा सामाजिक सञ्जालमा बढी देखिएको आरोप लगाउँदै उनले उद्धारमा प्रभावकारी उपस्थिति देखाउन सरकारलाई आग्रह गरे।

‘मलाई एउटा प्रश्नले घोचिरहेको छ। यदि मन्त्रिपरिषद्का सदस्यकै परिवार वा आफन्त विपद्मा परेको भए मन्त्रीहरूले प्राविधिक, विज्ञ र आवश्यक साधन जुटाएर उद्धारमा लाग्नुहुन्थ्यो कि माटो खोस्रेको फोटो–भिडियो खिचेर वाहवाहीका लागि सामाजिक सञ्जालमा पोस्ट गरिरहनुहुन्थ्यो?’ आङदेम्बेले प्रश्न गरे।

 

प्रतिक्रिया