बेइजिङ (एजेन्सी) । तिब्बतको सीमा क्षेत्रमा गएको विनाशकारी पहिरोपछि सयौँ मानिस अझै बेपत्ता रहेका बेला पुनः बाढीको जोखिम बढेपछि चीनले उद्धार कार्य अस्थायी रूपमा स्थगित गरेको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार पहिरोको गेग्रान र लेदोले नदी थुन्दा बनेको अस्थायी तालबाट पानी उद्धार टोली खटिएको क्षेत्रतर्फ बग्न थालेपछि उद्धार अभियान रोकिएको हो।
सीसीटीभीले शुक्रबार सबै उद्धार टोलीलाई सुरक्षित स्थानमै तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको जनाएको छ। घटनास्थलमा पुगिसकेका आपत्कालीन टोलीलाई समेत सम्भावित बाढीको जोखिमका कारण करिब एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको छ।
पहिरो र त्यसपछि आएको बाढीका कारण तिब्बतको सीमा क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। चीनतर्फ मात्रै सयौँ मानिस बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ। प्रतिकूल मौसम, कठिन भौगोलिक अवस्था र थप बाढीको जोखिमका कारण बेपत्ताको खोजी तथा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।