असोज २ बाट सेयर बजार पूर्ण रूपमा खुल्दै: नयाँ सरकार र अर्थमन्त्रीसँगै बजारमा आशा र उछालको संकेत

nepaltext.com

काठमाडौं, असोज १ — लामो समयदेखि बन्द रहेको नेपाली सेयर बजार अब पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्णय अनुसार बजार असोज २ गते (बिहिबार ) बाट नियमित रूपमा खुल्नेछ।

सेबोनको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले सेयर बजारलाई सम्पूर्ण रूपमा खोल्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले तयारी तीव्र बनाएको छ।

असोज १ गतेबाट नै बजार खुलाउने तयारी गरिएको थियो, तर सार्वजनिक बिदाका कारण कारोबार एक दिन पछि सारिएको हो। अब बजार पहिलेको नियमित समय तालिका अनुसार सञ्चालनमा आउनेछ।


बजार विश्लेषकहरूको धारणा: सुधारको संकेत

बजार विश्लेषकहरूका अनुसार पछिल्लो राजनीतिक स्थिरता र नयाँ आर्थिक नेतृत्वसँगै बजारमा सकारात्मक संकेत देखिएको छ। जेनजी आन्दोलनका कारण बन्द भएको बजार अब स्थायीत्वको संकेतका रूपमा खुल्न लागेको छ, जसले लगानीकर्ताको मनोबल बलियो बनाएको छ।

बजार विश्लेषक उज्वल शिवाकोटी भन्छन्, "अबको सेयर बजार केवल प्राविधिक रूपमा होइन, मनोवैज्ञानिक रूपमा पनि उठ्न सक्छ। नयाँ नेतृत्वले स्पष्ट नीतिगत संकेत दिएको खण्डमा बजारमा छोटो अवधिमा नै सुधार देखिन सक्छ।"


अर्थमन्त्री रामेश्वर खनालको आर्थिक दृष्टिकोण

अर्थमन्त्रीमा नियुक्त भएका रामेश्वर खनाल एक अनुभवी आर्थिक विज्ञ हुन्। बजेट कार्यान्वयन, पूँजी बजार सुधार र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने उनको अघिल्लो अनुभवलाई लिएर बजारमा सकारात्मक लहर देखिएको हो।

खनालले अघिल्लो कार्यकालमा पनि पूँजी बजारमा सुधार ल्याउने प्रयत्न गरेका थिए। अहिले उनले सेयर बजारप्रति सकारात्मक नीतिगत संकेत दिने सम्भावना उच्च देखिन्छ।


लगानीकर्ताहरूको प्रतिक्रिया: "अब केही हुने आशा छ"

सेयर बजार पुनः खुल्ने खबरसँगै धेरै साना तथा ठूला लगानीकर्ताहरूमा उत्साह देखिएको छ।

एक निजी लगानीकर्ता रमेश कार्की  भन्छन "सरकार परिवर्तन र खनालजस्तो अनुभवी अर्थमन्त्री आउँदा आशा पलाएको छ। अब सरकारको नीति र बजार नियमन स्पष्ट भए सेयर बजारमा नयाँ जीवन आउन सक्छ।"

त्यस्तै अर्का लगानीकर्ता राजु खतिवडाले भने, "सेयर बजार धेरै समयदेखि अन्योलमा थियो। अब बजार खुलेपछि बिस्तारै विश्वास फर्किनेछ।"

नेपाली सेयर बजार असोज २ बाट पूर्ण रूपमा खुल्दैछ। राजनीतिक स्थायीत्व, अनुभवी अर्थमन्त्रीको आगमन र धितोपत्र बोर्डको स्पष्ट निर्णयसँगै बजारले नयाँ गति लिने अपेक्षा गरिएको छ। अब बजारको गति नीतिगत स्पष्टता, लगानीकर्ताको मनोबल, र अर्थमन्त्रीको आगामी कदममा निर्भर रहनेछ।

प्रतिक्रिया