काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी धान खेतीका लागि आवश्यक रासायनिक मलको व्यवस्थापन गरिएको बताएकी छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले धान बालीको उत्पादन प्रभावित हुन नदिन आवश्यक मल उपलब्ध गराउने तयारी गरिएको जानकारी दिएकी हुन् ।
उनले मल आपूर्तिसम्बन्धी समस्या तथा गुनासो तत्काल सम्बोधन गर्न संघीय र प्रदेश तहका सम्बन्धित मन्त्रालयमा सम्पर्क व्यक्तिको व्यवस्था गरिएको बताइन् ।
मन्त्री चौधरीका अनुसार मल खरिद तथा व्यवस्थापनका लागि आवश्यक बजेट अभाव हुन नदिने प्रतिबद्धता अर्थ मन्त्रालयबाट प्राप्त भएको छ । उनले किसानलाई आवश्यक समयमा मल उपलब्ध गराउने विषयमा सरकार संवेदनशील रहेको उल्लेख गरिन् ।
२३ असार २०८३, मङ्गलबार ०२:५१ मा प्रकाशित