प्रहरीद्धारा गृहमन्त्रीको दबाब अस्वीकार, प्रमाण अभावमा ओली–लेखकविरुद्धको जाहेरी तामेलीमा

nepaltext.com

काठमाडौं — गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाहेरीमाथि अनुसन्धान अघि बढाउन गृहमन्त्री ओम प्रकाश अर्यालले गरेको प्रयास निष्फल भएको छ। प्रहरी स्रोतका अनुसार पर्याप्त प्रमाण नपुगेको ठहर गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता भएको जाहेरी तामेलीमा राखिएको छ।  ओली र लेखकसँगै हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहविरुद्ध पनि जाहेरी परेको थियो। चारै जनाविरुद्धको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता गरिएको थियो। गुरुङ आफैंले ओली–लेखकविरुद्ध जाहेरी दर्ता गराएका थिए भने शाह र गुरुङविरुद्ध अनेरास्ववियुले उजुरी दिएको थियो।

प्रहरीले जाहेरी अघि बढाउने वा नबढाउने विषयमा जिल्ला सरकारी वकिल कार्यालयसँग राय मागेको थियो। सरकारी वकिल कार्यालयले ‘भदौ २३–२४ घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ ले छानबिन गरिरहेको र आयोगकै प्रतिवेदनमा कारबाहीका सिफारिस आउने भएकाले जाहेरी दर्ता आवश्यक नभएको निष्कर्ष दिएको हो। शुरुआती चरणमा प्रहरी परिसरले जाहेरी आयोगमा पठाएको थियो, तर आयोगले फौजदारी मुद्दा आफ्नो अधिकारक्षेत्रभन्दा बाहिर रहेको भन्दै जाहेरी फिर्ता पठाएको थियो। पछिल्लो चरणमा भने प्रहरीको निर्णय अनुसार जाहेरी पुनः आयोगमै पठाइएको छ।  एक उच्च प्रहरी स्रोतका अनुसार, ओली र लेखकविरुद्ध जाहेरी दर्ता भएमा बालेन र सुदनविरुद्ध पनि मुद्दा दर्ता गर्नुपर्ने दबाब स्वाभाविक रूपमा आउने भएकाले जाहेरी तामेलीमा राख्ने निर्णय गरिएको हो। स्रोतका अनुसार, “यदि जाहेरी अघि बढाइयो भने फागुन २१ मा तय भएको चुनाव नै प्रभावित हुन सक्ने खतरा देखिएको सरकारको निष्कर्ष थियो।”

गृहमन्त्री अर्यालले डेढ हप्ता अघि महान्यायाधिवक्ताको कार्यालय पुगेर ओली र लेखकविरुद्ध जाहेरी दर्ता गरी कारबाही अघि बढाउन निर्देशन दिएका थिए। महान्यायाधिवक्ता सविता भण्डारीले त्यसपछि प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ, उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्की र जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेलाई बोलाएर छलफल गरेकी थिइन्। छलफलमा अधिकांश सहभागीले जाहेरी दर्ता गरिएमा राजनीतिक अस्थिरता र चुनावमा असर पर्न सक्ने निष्कर्ष निकाल्दै तत्काल जाहेरी दर्ता नगर्न सुझाव दिएका थिए।  

प्रधानमन्त्री सुशीला कार्कीले पनि यही सल्लाहको आधारमा जाहेरी तामेलीमा राख्न निर्देशन दिएको स्रोतको भनाइ छ। उनको प्राथमिकता आगामी फागुन २१ को निर्वाचन सम्पन्न गर्नु भएकाले, कुनै पनि कदमले राजनीतिक दलहरूलाई उत्तेजित पार्ने जोखिम लिन नचाहेको बताइन्छ।  .प्रहरी परिसरका एक अधिकृतका अनुसार सरकारी वकिल कार्यालयको रायपछि नै जाहेरी तामेलीमा राखिएको हो। संयोजक सुदन गुरुङले जाहेरी नदर्ता भएको भन्दै पटक–पटक गृहमन्त्रीसँग गुनासो गरे पनि, प्रहरीले सरकारी वकिलको रायको प्रतीक्षा भइरहेको बताउँदै टार्दै आएको थियो। 

प्रहरी स्रोतका अनुसार, जाहेरी तामेलीमा राखिएको जानकारी महानिरीक्षक खापुङलाई आधिकारिक रूपमा दिइसकिएको छ। ओली र लेखकविरुद्ध पर्याप्त प्रमाण नपुगेकाले मुद्दा अघि बढाउन नसकिने निष्कर्ष प्रहरीले निकालेको छ। बरु सुदन गुरुङ आफैं घटनास्थलमा देखिएको फुटेज सार्वजनिक भइसकेको र बालेनले विगतमा सामाजिक सञ्जालमार्फत सिंहदरबारमा आगो लगाउने धम्कीसमेत दिएका थिए। यद्यपि गृहमन्त्री अर्यालले प्रमाण जुटाएर भए पनि ओली–लेखकलाई गिरफ्तार गर्न दबाब दिएका थिए, प्रहरी र सरकारी वकिल दुवै निकायले कानूनी आधार नपुगेको भन्दै जाहेरी तामेलीमा राख्ने निर्णय लिएका छन्।

प्रतिक्रिया