जसपाको आन्दोलन अझ चर्किदैँ : जनकपुरधाममा प्रधानमन्त्री ओलीको पुतला दहन

nepaltext.com

जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला तथा मधेश प्रदेशका नेता–कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जनकपुरधाममा निरन्तर तेस्रो दिन पनि प्रदर्शन गरेका छन्।

बुधबार भानुचोकमा सडक अवरुद्ध गर्दै प्रदर्शनमा सहभागी कार्यकर्ताले “ओली सरकार मुर्दाबाद”, “झुटो मुद्दा खारेज गर” तथा “गौर हत्याकाण्डका योजनाकार प्रभु साहलाई कारबाही गर” भन्ने नाराबाजी गरेको छ भने प्रदर्शनकै क्रममा जसपाले प्रधानमन्त्री ओलीको पुतला दहनसमेत गरे ।

जसपा मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक एवम् प्रदेश सभा सदस्य रामअशिष यादवले सरकारले षड्यन्त्रपूर्वक अध्यक्ष उपेन्द्र यादवलाई गौर हत्याकाण्डमा फसाउन खोजेको आरोप लगाए । कांग्रेस र एमाले मिलेर यादवविरुद्ध मुद्दा अघि बढाएको दाबी गर्दै, प्रमुख सचेतक यादवले “यदि सरकार पछि हटेन भने अझ सशक्त आन्दोलन हुन्छ,” भन्ने चेतावनी दिए।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो। २०६३ साल चैत ७ गते गौरमा मधेशी जनअधिकार फोरम र माओवादीबीचको झडपमा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।

https://youtu.be/wFvOCvKs694?si=d6Txhj_OKhZ-cf_z

प्रतिक्रिया