काठमाडौँ । व्यावसायिक सफलता र विभिन्न संघसंस्थाहरुमा सफल नेतृत्व गरिसकेका श्रेष्ठ यतिबेला नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको आगामी नेतृत्वका लागि चुनावी मैदानमा छन्। नेपाल–माल्टा चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका कार्यकारी सदस्य समेत रहेका उनले पोखरा विश्वविद्यालयबाट एमबीए सम्मको अध्ययन गरेका छन्। चुनावी एजेण्डा र भावी योजनाबारे उनीसँग गरिएको कुराकानीको सम्पादित अंश:
उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा तपाईको उम्मेदवारी किन ?
"म नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशमा दुइ कार्यकाल उपाध्यक्ष भएर उद्योगी व्यवसायीका हित संरक्षण र निजी क्षेत्रका माग र मुद्दाहरुमा केन्द्रित रहेर काम गर्दै आएँ ।" यस अवधिमा मैले उद्योगी र व्यवसायी साथीहरुसँग सहकार्य गर्दै उत्पादक र वितरकबीच समन्वय स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेँ। उद्योग वाणिज्य महासंघ भनेको नेपाल सरकारपछि सबैभन्दा ठूलो नेटवर्क भएको सशक्त संगठन हो। प्रदेश महासंघ भनेको यसको दह्रो अङ्ग मात्र नभई साना-मझौला व्यवसायीको आशाको केन्द्र बन्नुपर्छ। त्यसैले, बागमती प्रदेश महासंघलाई थप सशक्त बनाउन मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ।
आम उद्योगी व्यवसायीका अपेक्षा पूरा गर्ने तपाईका एजेन्डा के छन् ?
"प्रदेश महासंघ पनि छ है भनेर देखाउने र यस संगठनले उद्योगी व्यवसायीहरुका मुद्दा र विचार बोक्छ र प्रदेश सरकार र आवश्यक परेमा केन्द्र सरकारसँग समेत स्ट्रङ लविङ गर्न सक्छ भनेर प्रमाणित गर्ने मेरो मुख्य योजना छ ।"
मैले बागमती प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसियट सदस्यहरुका समस्यालाई नजिकबाट बुझेको छु। हाम्रो प्रमुख प्राथमिकता सरकार र स्थानीय तहसँग समन्वय गरी व्यावसायिक क्षमता विकास गर्नु हो। विशेषगरी मेला महोत्सवलाई स्थानीय तहको वार्षिक तालिकामा समावेश गर्ने मोडल बनाउने हाम्रो सोच छ। साना र मझौला व्यवसायीलाई नापतौल र बजार अनुगमनका नाममा हुने हैरानी हटाउन प्रशासनसँग दीर्घकालीन समझदारी गरिनेछ। यस्तै, उद्यम व्यवसायलाई डिजिटल फ्रेमवर्कमा ल्याउने र सहुलियतपूर्ण कर्जा एवं कर सहुलियतका लागि नीतिगत पहल गर्ने मेरो योजना छ। साथै, मेरै कार्यकालमा प्रदेश महासंघको सुविधासम्पन्न आफ्नै भवन बनाउने अठोट लिएको छु।
बागमती प्रदेशभित्र के कस्ता सम्भावना देख्नुभएको छ र त्यसका लागि तपाईंका योजना के छन् ?
म बागमती प्रदेशका सबै भूगोल र वस्तुगत सदस्यका सम्भावनाबारे जानकार छु। राजधानी समेत यसै प्रदेशमा रहेकाले देशको ठूलो आर्थिक हिस्सा यसैले ओगट्छ। यहाँ पहाडको जडिबुटीदेखि पर्यटन र तराईको उत्पादनसम्म अपार सम्भावना छन्। यी क्षेत्रको व्यवस्थित उपयोगका लागि हामी प्रदेश सरकारलाई उपयुक्त आर्थिक नीति बनाउन सहयोग गर्नेछौँ।
यस्तै, मयुरधाप र शक्तिखोर जस्ता प्रस्तावित औद्योगिक क्षेत्रभित्र उद्योग खोल्न सहज वातावरण र कर सहुलियत दिलाउन मेरो विशेष प्राथमिकता रहनेछ।
प्रदेश महासंघ र मातहतका संघहरुलाई आत्मनिर्भर बनाउने तपाईंका योजना के छन् ?
अहिले प्रदेश महासंघको आम्दानी सिमित छ। भवन निर्माण भएपछि त्यसबाट स्थायी आम्दानीको स्रोत जुट्नेछ। जिल्ला नगर संघहरुले गर्ने मेला महोत्सवलाई उद्योग वाणिज्य संघ र वस्तुगत संघको 'अधिकार'का रुपमा स्थापित गराएर स्थानीय तहको वार्षिक कार्यक्रममा समेट्न सकियो भने आम्दानी स्थायी हुन्छ। साथै, उद्यम व्यवसाय दर्ता र नवीकरण शुल्कमा उद्योग वाणिज्य संघलाई निश्चित प्रतिशत हिस्सेदार बनाउन नीतिगत प्रावधान लागू गर्न समन्वय गरिनेछ।
अन्त्यमा, मतदाता उद्योगी व्यवसायीहरुलाई के भन्न चाहनुहुन्छ ?
मैले उद्योग व्यवसायमैत्री नीति निर्माणमा आफूलाई केन्द्रित गर्ने लक्ष्य लिएको छु। "मैले बागमती प्रदेश महासंघलाई पर्याप्त समय दिन सक्छु, जिल्ला नगर, वस्तुगत र एसोसियट सदस्यहरुले मलाई खोज्नुपर्दैन, म आफैँ उहाँहरुलाई खोजेर पुग्नेछु ।" त्यसैले, समृद्ध व्यावसायिक वातावरणका लागि मलाई यहाँहरुको अमूल्य मत प्राप्त हुने विश्वास लिएको छु।