प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले हालै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग जोडेर आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।
भदौ ११ गते राजधानीमा पार्टीको दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँग ओलीले अनौपचारिक छलफल गरेका थिए। तर सो भेटघाटलाई केही सञ्चारमाध्यम र सामाजिक सञ्जालले विकृत गर्दै भ्रामक समाचार प्रसारण गरेको सचिवालयको आरोप छ।
सचिवालयका अनुसार उक्त कार्यक्रम कुनै औपचारिक बैठक वा प्रशिक्षण नभई प्रतिनिधिसँग विचार आदानप्रदान गर्ने सामान्य अवसर मात्र थियो। त्यस क्रममा ओलीले पार्टीको ऐतिहासिक पृष्ठभूमि, पछिल्ला नीति तथा सरकारका कामकारवाहीबारे आफ्ना धारणा राखेका थिए।
विद्यादेवी भण्डारीसम्बन्धी ओलीले दिएको भनाइ तोडमोड गरी प्रस्तुत गरिएको सचिवालयको भनाइ छ। ओलीले भण्डारीप्रति आफ्नो सम्मान र मायाको उल्लेख गर्दै उनको पछिल्लो गतिविधिप्रति आश्चर्य प्रकट मात्र गरेको स्पष्ट पारेका छन्।
भ्रम फैलाउने उद्देश्यले गरिएको समाचारप्रति सचेत रहन आग्रह गर्दै सचिवालयले यथार्थपरक जानकारी प्रस्तुत गर्न सञ्चारकर्मी, विश्लेषक र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आह्वान गरेको छ।