महानगरको दमनविरुद्ध कवाडी व्यवसायी कार्यालय घेराउ गर्दै

nepaltext.com

विगत दुई वर्षदेखि काठमाडौँ महानगरपालिकाले व्यवसायमाथि निरन्तर दमन गर्दै आएको आरोप लगाउँदै कवाडी व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् । कवाडी व्यवसायी समाज नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै आजदेखि आन्दोलन सुरु गर्ने जनाएको छ ।

व्यवसायी र मजदुरहरूले आज दिउँसो १२:३० बजे काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका छन् । उनीहरूले महानगर प्रहरीले व्यवसायी तथा सङ्कलक मजदुरमाथि कुटपिट गर्ने, सामान जफत गर्ने, संरचना भत्काउनेजस्ता अमानवीय व्यवहार गर्दै आएको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “महानगर प्रहरीको कुटपिटका कारण सङ्कलक र मजदुरको टाउको फुट्ने, अङ्गभङ्ग हुने, र घोर मानसिक त्रास सिर्जना हुने घटना बारम्बार भइरहेका छन् ।”

महानगर प्रमुख बालेन्द्र शाहमाथि गरिब, श्रमिक र साना व्यवसायीलाई नियोजित रूपमा राजधानीबाट हटाउन खोजेको आरोप पनि लगाइएको छ । यस्ता कार्य तत्काल बन्द गर्न, संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्न र व्यवसायी तथा मजदुरको जिउधनको सुरक्षाका लागि सरकारले हस्तक्षेप गर्नुपर्ने माग उनीहरूको छ ।

महानगरपालिकाले भने अव्यवस्थित कवाडी संकलन केन्द्र हटाउने अभियानलाई निरन्तरता दिँदै आएको छ । यस विषयमा लामो समयदेखि व्यवसायी र महानगरबिच तनाव कायम रहँदै आएको छ ।

प्रतिक्रिया