बाढीपीडितको दुःखमा अस्ट्रेलियाबाट दिपक खड्काको साथ, ५१ लाख सहयोग

श्याम खतिवडा

काठमाडौं ,१६ भदौ । नेपालमा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियास्थित दुई शैक्षिक संस्थाले करिब ५१ लाख रुपैयाँ सहयोग गरेका छन्। ती दुवै संस्थाका संस्थापक एवं अध्यक्ष (फाउण्डर तथा चियरपर्सन) भने नेपालका व्यवसायी तथा शिक्षासेवी दिपक खड्का हुन्।

खड्काको नेतृत्वमा सञ्चालित Crown Institute of Higher Education (CIHE) Australia र Crown Institute of Business and Technology (CIBT) Australia ले संयुक्त रूपमा ४८ हजार ५१७ अस्ट्रेलियन डलर (करिब ५१ लाख रुपैयाँ) नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका हुन्।

‘Standing with Nepal—Supporting Nepal’s flood recovery efforts’ सन्देशसहित गरिएको उक्त सहयोग विपद्को कठिन घडीमा नेपाल र नेपालीप्रतिको ऐक्यबद्धता तथा मानवीय उत्तरदायित्वको निरन्तरता भएको खड्काले बताएका छन्।

दोलखाको खोपाचागुमा जन्मिएका खड्का व्यवसायसँगै सामाजिक सेवामा समेत सक्रिय छन्। २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनादेखि कोभिड–१९ महामारीसम्म उनले विभिन्न चरणमा उल्लेख्य आर्थिक सहयोग तथा सामाजिक गतिविधिमा योगदान दिँदै आएका छन्।

आफ्नै जन्मथलो हालको विगु गाउँपालिका–८ का स्थानीयलाई माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा शेयर लगानी गर्न प्रोत्साहित गर्दै खड्काले विगतमा गाउँका अधिकांश नागरिकलाई नगद सहयोगसमेत उपलब्ध गराएका थिए। खड्काले आफ्नो गृहगाउँ दोलखाको खोपाचागुका ३ विद्यालयमा आफ्ना बुवाआमाको सम्झनामा अक्षय कोष स्थापना गरि हरेक वर्ष विद्यार्थीहरुलाई छात्रवृत्ति समेत वितरण गरिरहेका छन् । 

नेपालमा आइपर्ने हरेक दुःख–सुखमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका खड्काको नेतृत्वमा रहेका दुई संस्थाबाट आएको पछिल्लो सहयोगले विदेशमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय सेवाको भावनालाई थप बलियो बनाएको छ।

प्रतिक्रिया